म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हिँजो (आइतबार) दिउँसोदेखि रोकिएको मतगणना सुचारु गर्न नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले माग गरेको छ ।
एमाले अन्नपूर्णका अध्यक्ष धनकुमार पूर्जाले हस्ताक्षर गरी सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत रोकिएको मतगणना सुचारु गर्न माग गरिएको हो ।
पालिका अध्यक्ष पूर्जाद्वारा जारी विज्ञप्तिमा ‘स्थगित भएको मतगणनालाई कानुन र विधिसम्मत ढङ्गले तत्काल सञ्चालन गर्नका लागि निर्वाचन आयोग र स्थानीय प्रशासनसमक्ष जोडदार माग गर्दछौं’ भनी उल्लेख गरिएको छ ।
राजनीतिक संस्कारलाई ख्याल गरेर एमालेका नेता तथा कार्यकर्ताहरु संयमित भएर बसेकोमा विपक्षीले कमजोरी ठानी जथाभावी र कपोलकल्पित आरोप लगाई जनतामा छरेको भ्रम निन्दनीय रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।
गएको शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मतदानपछि सम्पूर्ण मतपेटिकाहरु अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ल्याइएको र शनिबार बिहानैदेखि मतगणना सुरु गरिएको थियो ।
मतगणनाअनुसार अन्नपूर्ण १ दोवा, २ भूरुङ–तातोपानी र ३ दानाको मतगणना सम्पन्न गरी नेकपा एमालेले जितेको प्यानलसहित विजेता समेत घोषणा गरिएको थियो ।
त्यसपछि अन्नपूर्ण ४ नारच्याङको मतगणना गर्ने क्रममा एक्कासी मतगणनास्थल बाहिर गेटमा मतगणनामा धाँधली भएको आरोप लगाउँदै एमालेका उम्मेदवार, दलका प्रतिनिधि तथा नेता, कार्यकर्ताहरुको चरित्रहत्या गर्ने, नारा लगाउने र ज्यान मार्ने धम्की दिँदै हुलदङ्गा गरेको आरोप लगाइएको छ ।
उक्त कार्यको अगुवाई अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा प्रमुख प्रकाश जिसी र वडानम्बर ४ का वडा कार्यालय सहयोगी हुममाया गर्बुजासहित ६ नम्बर वडा निवासी नेपाली कांग्रेसका कार्यकर्ताहरुले थप उत्तेजित बनाएको भनेर विज्ञप्तिमा लेखिएको छ ।
साथै नेपाली कांग्रेसको जिल्ला तहका नेताहरुद्वारा प्रमुख जिल्ला अधिकारीको अगाडि मतगणनामा खटिएका कर्मचारीलाई हातपात समेत गरेको र प्रजिअ मुकदर्शक बनेको आरोप पनि लगाइएको छ ।
त्यसपछि प्रजिअ समेतको टोली नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा गएर लामो समय बिताएपछि बेनी फर्किएकोमा गम्भीर ध्यानाकर्षण भएको एमाले अन्नपूर्णले विज्ञप्तिमा जनाएको छ ।