म्याग्दी । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता भएको छ ।
नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले प्रमुखमा मनकुमारी विक र उपप्रमुखमा सोहन श्रेष्ठको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गठबन्धनका तर्फबाट अन्य सदस्यहरुमा उम्मेदवारी नपरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित हुनुभएको छ । मनोनयनको अन्तिम समयावधिसम्म सदस्य पदमा ७ जनाको मात्रै उम्मेदवारी परेकाले नेकपा एमालेका सबै उम्मेदवारहरु निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।
एमालेको तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो । काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएकी विक बेनी नगरकार्यपालिका सदस्य र श्रेष्ठ बेनी वडा नम्बर ७ को वडा सदस्य हुनुहुन्छ ।
निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी) ,श्रीप्रसाद गर्बुजा (धबलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण), महिला सदस्यहरु कविता विश्वकर्मा (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकारी विश्वकर्मा (बेनी) निर्विरोध चयन हुनुभएको छ ।
२ गते उम्मेदवार उपर उजुरी, सोही दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने र ५ गते मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मत रहेको थियो । एमालेको ७ मत, काँग्रेस ३ र माओवादीको २ मत छ । काँग्रेस र माओवादीको गठबन्धन हुँदा पनि एमालेको एकल बहुमत छ ।